काठमाडौं महानगर मेयर पदमा ५६ जनाको उम्मेदवारी
SamacharDesk – बिराज | २०७९ बैशाख १३, मंगलबार

आसन्न स्थानीय तहको निर्वाचनको क्रममा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि ५६ जना आकांक्षी देखिएका छन् ।
आइतबार र साेमबार भएको उम्मेदवारी दर्तामा कुल ५६ जनाले काठमाडौं महानगर प्रमुख पदको लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् ।
तीमध्ये आधा भन्दा बढि स्वतन्त्र उम्मेदवार रहेका छन् । २१ जना दलीय उम्मेदवार छन् भने ३५ जना स्वतन्त्र उम्मेदवार छन् । महिला उम्मेदवार जम्मा ८ जना छन् ।
काठमाडौं महानगर प्रमुखका लागि नेकपा एमालेले पूर्व मेयर केशव स्थापितलाई चुनावी मैदानमा उतारेको छ भने सत्तारुढ पाँच दलको गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसकी सिर्जना सिंले महानगर प्रमुखमा उम्मेदवारी दिएकी छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ सिने कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र तर्फ र्यापर बालेन्द्र शाह, उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि चर्चामा छन् ।
त्यसैगरी उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।
उपमेयरको उम्मेदवारमा पनि आधा बढि स्वतन्त्र छन् । १२ जना दलीय उम्मेदवार छन् भने १९ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उपमेयरमा महिला उम्मेदवार १२ जना छन् ।
उपमेयरमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल अगाडी देखिएकी छन् भने विद्या श्रेष्ठको चर्चा पनि राम्रै छ ।
