प्राधिकरणले आन्तरिक उडान १८ घण्टा गर्ने
SamacharDesk | २०७९ बैशाख १५, बिहिबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पु¥याएको छ ।
सात वटा विमानस्थलले वैशाख १५ गते विहीबारदेखि १८ घण्टा सेवा सुचारु गरेको छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी र नेपालगन्ज विमानस्थलमा १८ घण्टा सेवा सुचारु हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
यसले काठमाडौं विमानस्थलको उडान चापको व्यवस्थापन हुने विश्वास प्राधिकरणको रहेको छ । आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा पनि त्रिभुवन विमानस्थल तथा भैरहवाको गौतम बुद्ध विमानस्थलबाट २४ घण्टे उडान सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ ।
यस अघि १२ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थलमा सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर छ घण्टा समयावधि थप गरेको कर्णले जानकारी दिनुभयो । हवाईसेवामा यात्रुहरुको चाप बढ्दै गएकाले चापलाई कम गर्न विमानस्थलले सेवाअवधि थप गर्नुपरेको जनाएको छ । काठमाडौं विमानस्थलमा अहिले दैनिक दुवैतर्फी उडान ४२० वटा भइरहेको छ ।
यसैबीच, नेपाल वायु सेवाको वाइड वडी विमानले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भर्ने भएको छ । निगमको एअरबस ए–३३० विमान आज अपरान्ह ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ ।
पर्यटनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना लिएर विमान जाने बुझिएको छ । भैरहवामा दुई घण्टा रोकिएपछि विमान पुनः काठमाडौं फर्किने छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि व्यावसायिक उडान थाल्ने तयारी भइरहेको छ ।
Categorized in राष्ट्रिय