अवतार २ को ट्रेलर रिलिज मिति सार्वजनिक
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १५, बिहिबार

बहुचर्चित हलिउड साइफाइ फिल्म अवतारको सिक्वेल ‘अवतार, द वे अफ वाटर’ को टिजर अर्थात ट्रेलर पर्खिरहेका दर्शकहरुको प्रतीक्षाको घडि अन्ततः समाप्त हुने भएको छ ।
आउँदो मे महिनाको ६ तारीखमा फिल्मको पहिलो टिजर सार्वजनिक हुने भएको छ । फिल्म निर्माण कम्पनी डिज्निले आउँदो मे महिनाको ६ तारीखका लागि फिल्मको पहिलो टिजर मिति घोषणा गरेको हो ।
डिज्निले फिल्मको पहिलो टिजर मे ६ को दिन ‘डक्टर स्ट्रेन्ज मल्टिभर्स अफ म्याडनेस’मा डेब्यु गर्ने जनाएको छ । त्यसको एक हप्ता पछि उक्त टिजर अनलाइनमा सार्वजनिक गर्ने भएको छ ।
फिल्मको रिलिज मिति भने यस अघि नै सार्वजनिक भइसकेको थियो । फिल्म यहि डिसेम्बर १६ मा विश्वभर रिलिज हुने तयारीमा छ ।
अवतार वानको सिक्वेल यो फिल्म २०२१ डिसेम्बर २१ मा रिलिज हुने भनिएको थियो । तर विश्वव्यापी कोरोना महामारीका कारण फिल्मको रिलिज मिति धकेलिएको हो ।
अवतार २ संयुक्त राज्य अमेरिका र विश्वभरि 3D, 2D, IMAX, हाई फ्रेम रेजोल्युसन संस्करणहरू र अन्य फर्म्यात समेतमा रिलिज हुने भनिएको छ । साथमा लगभग १६० भाषाहरूमा फिल्मको डबिङ हुने पनि बताइएको छ, जुन चलचित्र इतिहासमै पहिलो हो ।
साथै डाइरेक्टर जेम्स् क्यामरन अवतारका अन्य तीन सिक्वेलहरू ब्याक–टु–ब्याक रिलिज गर्ने तयारीमा छन् ।
अवतार ३: द सीड बियरर डिसेम्बर २०, २०२४ मा रिलिज हुने बताइएको छ । डाइरेक्टर क्यामरनले सन् २०२० सेम्टेम्बरमै अवतार २ को काम सम्पूर्ण रुपमा र अवतार ३ को काम ९५ प्रतिशत सम्पन्न भइसकेको बताएका थिए ।
यसैगरी अवतार ४ : द टुलकुन राइडर डिसेम्बर १८ २०२६ मा र अवतार ५ : द क्वेस्ट फर इवा डिसेम्बर २२ २०२८ मा रिलिज गर्ने क्यामरनको तयारी छ ।
Categorized in पेजथ्री