आयोगद्वार निर्वाचन चिन्ह प्रदान
SamacharDesk | २०७९ बैशाख १७, शनिबार

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी उठेकाहरु स्वतन्त्र रुपमा उम्मेदबार हुँदै चुनावी मैदानमा रहेका छन् । करिब १ लाख ५० हजार मनोनयन दर्ता गर्ने मध्ये १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् । उनीहरुलाई उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिन्ह वितरण भएको हो । आयोगले स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलावको फूल, भुइकटहरदेखि खसीको टाउको जस्ता निर्वाचन चिन्ह वितरण गरिएको छ ।
राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारले भने दलकै चुनाव चिन्ह पाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी र नेकपा एकीकृत समाजवादीले देशैभरि आफ्नो निर्वाचन चिन्ह पाएका छन् ।
राष्ट्रिय दलको मान्यता नपाएका तर गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिन्ह पाएका छन् । उनीहरूको निर्वाचन चिन्हको क्रम गत संसदीय निर्वाचनमा पाएको समानुपातिक मतको सख्याका आधारमा तय गरिने व्यवस्था छ ।
स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेकै चिन्ह प्रदान गरिने व्यवस्था गरेको छ । तर, दुई वा त्यसभन्दा बढी उम्मेदवारले एउटै चिन्ह रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम बनाएको थियो ।
यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा तीन हजार २४९ पुरुष र २६८ महिला गरी तीन हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र एक हजार ५६८ महिला गरी दुई हजार १७५, गाउँपालिका अध्यक्षमा तीन हजार १४९ पुरुष र १९८ महिला गरी तीन हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र एक हजार ७९१ महिला गरी दुई हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।
यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र दुई हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।
७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।
Categorized in राष्ट्रिय