arin enterprises

तन्त्रविद् राजोपाध्याय र उपाध्याय सम्मानित

SamacharDesk – बिराज | २०७९ बैशाख १८, आइतबार

मातातीर्थ औंशीको दिनमा तन्त्र चर्चा परिवारले सम्मान र पुस्तक विमोचन कार्यक्रमकाे आयोजना गरेको छ ।

शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा तन्त्र विद्वानद्वय महेश्वर जुजु राजोपाध्याय र विद्यानाथ उपाध्यायलाई सम्मान गरिएको हो ।

राजोपाध्यायलाई त्रिगुणातीत तन्त्र साधना रत्न र उपाध्यायलाई तन्त्र विद्या शिरोमणि उपाधीबाट सम्मान गरिएको हो ।

कार्यक्रममा तन्त्र एवम् संस्कृतिविद् जगमान गुरुङले सम्मानितद्वयलाई सम्मान पत्र प्रदान गर्नुभयो । तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले दोसल्ला ओढाएका थिए ।

नेपाल खाल्डोको मौलिक तन्त्राभ्यास र संस्कृतिको संरक्षण, सम्वर्ध्दनमा योगदान पुर्‍याएको भन्दै राजोपाध्याय र उपाध्यायलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा चारवटा पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रममा विमोचित पुस्तकहरुमध्ये ‘विज्ञानले स्वीकारेका शास्त्रीय निर्णयहरुको मन्थन’ संस्कृत व्याकरणाचार्य गजानन्द राजोपाध्यायले लेखेका हुन् ।

त्यस्तै अर्को पुस्तक ‘सनातन संस्कृतिमा नाग’ पुस्तकको व्याकरणाचार्य राजोपाध्याय र तन्त्र चर्चा परिवारका संयोजक सापकोटाले संयुक्त रुपमा लेखेका हुन् ।

विभिन्न लेखकहरुबाट लिखित नेपाली तन्त्र, संस्कृति सम्वन्धि लेखहरुको संग्रह ‘तन्त्र चर्चा’ र ‘बलिको अपरिहार्यता’ पुस्तकको  सम्पादन सापकोटाले गरेका छ्न ।

कार्यक्रममा वक्ताहरुले नेपाली समाजको ईतिहास र संस्कृतिसँग तन्त्राभ्यासको घनिष्टता र सम्वन्धको विषयमा जोड दिएका थिए ।

गुह्येश्वरी माईलाई १०८ पञ्चमकार अर्पण

अघिल्लो दिन शुक्रबार भने तन्त्र चर्चाले गुह्येश्वरीमा गुह्येश्वरी माईलाई १०८ पञ्चमकार अर्पण पूजा र नवचण्डि पाठ कार्यक्रमको आयोजना गरेको थियो ।

तन्त्रोक्त होमसहित गरिएको पूजामा गुह्येश्वरीलाई छागबलिसमेत दिइ १०८ पंचमकार अर्पण गरिएको थियो ।

तन्त्र परम्परामा मत्स्य, मदिरा, मैथुन, मास र मुद्रालाई पंचमकारको रुपमा लिइन्छ भने नेवार समाजमा चलनचल्तीमा रहेको ख्येँय् सगं (अण्डा सगुन) लाई पंचमकारको रुपमा लिइन्छ ।

पंचमकारको रुपमा ख्येँय् सगंका सामग्रीहरु अण्डा, मदिरा, सुकेको माछा, मासु र मासको बारा अर्पण गरिएको थियो ।

साथमा ९ जना राजोपाध्याय देव ब्राम्हणहरुबाट दुर्गासप्तसती पाठ गरिएको थियो ।

नेपाली संस्कृतिमा तन्त्रको अपरिहार्यता नयाँ पुस्तालाई देखाउन र बुझाउन यस किसिमको कार्यक्रम आयोजना गरिएको तन्त्र चर्चाका संयोजक सन्दिप सापकोटाले बताउनुभयो ।

Categorized in संस्कृति