arin enterprises

भव्य रुपमा मनाईयो २५औं महानगर दिवस

SamacharDesk – विकाश | २०७६ मङ्सिर २९, आइतबार

विभिन्न सम्मानहरुको साथमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस भव्य रुपमा मनाएको छ । 

दिवस मनाउने क्रममा २९ गते आइतबार वसन्तपुरमा औपचारिक कार्यक्रमको साथै साँगितिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभाग र गुथि संस्थानले सहयोग गरे यहि कार्यकालमा पुनर्निर्माणका सम्पूर्ण कामहरु सम्पन्न गर्ने दावी गर्नुभयो । मेयर शाक्यले कतिपय ऐतिहासिक पुरातात्विक संरचनाहरु पुरातत्व विभाग र गुथि संस्थानले आवश्यक सहयोग नदिँदा पुनर्निर्माण हुन नसकेको बताउनुनयो । गुथि संस्थानको स्वामित्वमा रहेको कतिपय संरचनाहरु महानगरपालिकाले नै पुनर्निर्माण गर्छु भन्दा पनि नदिने र आफुले नगर्ने तर त्यसको दोष कामपालाई दिने गरेको शाक्यको भनाई थियो । 

दलीय, व्यक्तिगत वा अन्य कुनै किसिमको आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काठमाडौं बनाउन सबै एकजुट हुनुपर्नेमा शाक्यले जोड दिनुभयो ।

काठमाडौंलाई प्रदुषणमुक्त, धुलोमुक्त, जाममुक्त बनाउन आफु लागिपरेको बताउँदै शाक्यले कामपाले पार्किङ भवनको योजना अघि बढाएको जानकारी दिनुभयो । साथै निजी क्षेत्रबाट पनि पार्किङ भवन बनाएमा कामपाले सक्दो सहयोगको साथमा सहुलियत पनि प्रदान गर्ने प्रतिवद्धता शाक्यले जनाउनुभयो । 

साथमा, शाक्यले महानगरबासीले आफ्नो निजी घर पनि सम्पदा मैत्री बनाएमा राज्यबाट उपलब्ध हुने सुविधा र सहुलियत पनि दिने जानकारी शाक्यले दिनुभयो ।

टोलटोलमा रहेका मन्दिर, आगमघर, चैत्य आदि लगायतका धार्मिक साँस्कृतिक महत्वका सम्पदा जिर्णोद्धारको लागि कामपाले सहयोग गर्ने वचन दिँदै शाक्यले सम्वन्धित गुथिमार्फत कामपालाई सम्पर्क गर्न आव्हान गर्नुभयो ।

त्यसैगरी, स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठीले १६औं शताब्दीको अन्त्य र १७औं शताब्दीको शुरुवातताका काठमाडौं युरोपको बर्लिन र पेरिस जत्तिकै विकास भइसकेको बताउँदै वर्तमान समयमा आएर यो अवस्थामा कसरी आइपुग्यो भनी प्रश्न राख्नुभयो ।

साथै, मन्त्री त्रिपाठीले कामपाले देशको राजधानी हुनुको मात्र नभै काठमाडौं नगरमा भएका मूर्त अमूर्त संस्कृति र सभ्यताको दायित्व समेत बोक्नुपर्ने धारणा राख्नुभयो ।

सोही कार्यक्रममा विभिन्न बाजा खलकका गुरुहरु, मनोरन्जन, घरबहाल आदि लगायतका विभिन्न कर बढि तिर्ने करदाता, कामपाका कर्मचारीलाई दीर्घ सेवा पदकसाथै रु. ५० हजार राशीको सुशासन पत्रकारिता पुरस्कारबाट दश जना पत्रकारलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सांसद जीवनराम श्रेष्ठ, कामपा उपमेयर हरिप्रभा खड्गीको समेत उपस्थिती थियो ।

औपचारिक कार्यक्रम पश्चात गायक कलाकारहरुबाट साँगितिक प्रस्तुति पनि दिइएको थियो । 

दुइ दिन मनाइएको महानगर दिवस साथै महानगर महोत्सवमा अघिल्लो दिन २८ गते शनिबार वसन्तपुरमा रञ्जना लिपिको वृहत कार्यशाला क्यालिग्राफिको पनि आयोजना गरिएको थियो ।

महोत्सवको दुवै दिन वसन्तपुरमा विभिन्न हस्तकलाका सामग्री, नेवार खानाको परिकारको स्टलहरु पनि राखिएको थियो ।

Categorized in राष्ट्रिय