नवनियुक्त मन्त्रीहरुले लिए शपथ तथा पदभार ग्रहण
SamacharDesk – राम डंगोल | २०७९ आषाढ १३, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिनुभएको हो ।
स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले पनि शपथ ग्रहण गर्नुभएको छ । चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।
सो अवसरमा आजै पदभर ग्रहण गर्दै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे ।
स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९र८० का लागि बजेटसमेत छुट्याएको छ । यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
यस्तै सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् ।उनले छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदभार ग्रहण गरेका भवानी खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताएका छन् ।
उनले क्यान्सर, मुटु, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि बताए । उहाँले सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी काम गर्ने बताउनुभएको छ ।
Categorized in राजनीति