arin enterprises

‘दललाई नो भोट बालेन्द्रकाे जित’-पुर्वमन्त्री प्रधान

SamacharDesk – बिराज | २०७९ आषाढ १९, आइतबार

पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले यस पटकको स्थानीय निर्वाचनमा मतदाताले राजनीतिक दलहरुलाई नो भोट दिएको बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै संघीय सांसदसमेत रहेका पुर्वमन्त्री प्रधानले राजनीतिक दललाई नो भोटको संकेत स्वरुप स्वतन्त्रलाई भोट दिएको विचार राखे ।

‘नेपालमा नो भोटको व्यवस्था नभएकोले मतदाताले स्वतन्त्रलाई भोट हाले र बालेन्द्रले जिते । अब दलहरु नसुध्रिने हो भने जनताले दललाई पनि फाल्न सक्छ भनेर बुझ्नु आवश्यक छ’ प्रधानले भने ।

दलहरुबीचको झै झगडा र खिचातानीबाट आम नागरिक दिक्क भइसकेका छन् भनेर सबै दलहरुले बुझ्नु जरुरी रहेकोमा उनले जोड दिए ।

अब दलीय नेताहरुले पद वा सत्तालाई भन्दा राष्ट्रको स्वार्थलाई प्राथमिकतामा राखेर सबै एकजुट भई अघि बढ्न आग्रह गरे ।

काठमाडौं महानगरपालिका २७ वडा कार्यालयबाट आयोजित कार्यक्रममा आआफ्नो क्षेत्रमा योगदान पुर्‍याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रशासन, स्वास्थ्य, शिक्षा, बैकिंङ, साहित्य र कानुनी क्षेत्रमा योगदान पुर्‍याउने २७ वडा भित्रका १५ जना व्यक्तित्त्वलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्त्वहरुलाई पुर्वमन्त्री प्रधानले दोसल्ला ओढाउँदै सम्मान पत्र हस्तान्तरण गरे ।

सोही कार्यक्रममा अन्नपूर्ण फुटबल क्लबलाई वडाले जर्सिको साथमा खेल सामग्रीसहितको सहयोग पनि हस्तान्तरण गरेको थियो ।

काठमाडौं महानगरपालिका वडा २७ का वडाध्यक्ष योगेश कुमार खड्गीले वडाको वृहत्तर विकासको लागि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाका मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धनको लागि आफुले काम गर्ने उनले बताए ।

अग्रजको सम्मान गर्दै नयाँ पुस्तालाई वडाको विकासको लागि प्रोत्साहित गर्ने र सबैको सल्लाह सुझाव अनुसार सबैलाई समेटेर अघि बढ्ने खड्गीको भनाई थियो ।

Categorized in स्थानीय