arin enterprises

नृसिंह जात्राका लागि राजालाई निमन्त्रणा दिइयो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ २९, बुधबार

आज असार पुर्णिमा अर्थात गुरु पूर्णिमा । आजको दिनमा आफुलाई शिक्षादिक्षा दिने र जीवनमा सहि मार्ग देखाउने गुरुजनको स्थान र महत्त्वबारे यहाँ कसलाई बताइरहनु पर्ला र ?

नेवार समाजमा हिन्दु समुदायको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्याय देव ब्राम्हणहको लागि भने आजको दिनको अझ विशेष महत्त्व रहेको छ । ब्राम्हणहरुको लागि श्रावणी कर्म अथवा उपाकर्मको दिन ठुलै महत्त्व रहने गर्छ ।

यसैगरी ललितपुरका राजोपाध्याय ब्राम्हणहरुले  आफ्नो उपाकर्मको क्रममा भाद्र कृष्ण पञ्चमिको दिनमा नृसिंह जात्रा गर्ने गर्छन् । शान्त स्वरुपका नृसिंहको यहि जात्रासँगै ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्मले पूर्णता लिने मान्यता छ ।

यसै क्रममा गुरु पुर्णिमाको दिनमा ललितपुर राज्यका मल्ल राजालाई जात्राको निमन्त्रणा गर्ने गरिन्छ ।

आज गुरु पुर्णिमाको दिनमा ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरु ललितपुरको मंगलबजारस्थित मल्लकालीन दरवारको सुन्दरी चोकमा गई मल्ल राजालाई निमन्त्रणा ‘स्वां तःवनेगु’ अर्थात पुष्पार्पण कार्यक्रम सम्पन्न भएको छ ।

मल्ल राजालाई आउँदो जनै पुर्णिमाका दिनमा श्रावणी कर्ममा सहभागीता र नृसिंह जात्रा (उपाकलं सायाः) को निमन्त्रणाको रुपमा यस ‘स्वां तः वनेगु’ परम्परालाई लिइन्छ ।

हरेक बर्ष ललितपुरका राजोपाध्याय व्राम्हणहरुको उपाकर्म गुठीले आयोजना गर्ने नृसिंह जात्राको पालोवालाले पुष्पार्पण गर्न जाने परम्परा रहेको छ र गुठीका सदस्यहरुमा ज्येष्ठताको आधारमा जात्राको पालो दिने गरिन्छ ।

यसै अनुसार यस वर्षका पालोवाला ललितपुरको पट्को टोल निवासी केदार ज्वालानन्द राजोपाध्यायले आज मल्ल राजालाई निमन्त्रणास्वरुप पुष्पार्पण गरेका थिए ।

राजालाई पुष्पार्पण स्वरुप फुल गुच्छाको साथमा सुपारी, जनै, पैसा र फलफुल सुन्दरीचोकमा अवस्थित ढुङ्गाको खाटमा राखिएको थियो ।

ललितपुरको षटकुल अर्थात ६ वटा कुलका देव ब्राम्हणका प्रतिनिधिहरु सुन्दरी चोकमा भेला भइ स्वस्तिवाचनसमेत गर्दै पुष्पार्पण गरेका थिए ।

विगतका दिनहरुमा मल्ल राजाको प्रतिनिधिको रुपमा गुठी संस्थान ललितपुर शाखाका प्रमुखको उपस्थिती हुने गथ्र्यो ।

यस बर्षदेखि भने राष्ट्रप्रमुख, गुठि संस्थान केन्द्रको प्रमुख, नगर प्रमुख, उपप्रमुख साथसाथै ललितपुरको सायाः क्षेत्रमा पर्ने वडाका वडाध्यक्षहरुलाई पनि निमन्त्रणा गरिएको नृसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषणनाथ शर्माले जानकारी दिए ।

ललितपुरमा उपार्कर्म गुठीबाट हरेक वर्ष गर्ने नरसिंह जात्रामा पालोवालाको घरबाट अप्सरागणको साथमा लक्ष्मी, सरस्वती र प्रह्लादसहित नृसिंह निकालेर ललितपुरको सायाः क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।

यसलाई स्थानीय भाषामा उपाकलं सायाः पनि भनिने गरिन्छ । यस वर्षको जात्रा आउँदो श्रावण ३१ हुन गइरहेको छ ।

 

Categorized in संस्कृति