अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छः प्रधानमन्त्री
SamacharDesk | २०७९ आश्विन ४, मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनु भयो ।
उहाँले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताउनु भयो ।
उहाँले कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेंगुबाट निधन भएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनैपनि समस्या समाधानका लागि सामुहिक प्रयत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गर्नुभयो ।
उहाँले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको बताउनु भयो ।
Categorized in राष्ट्रिय