राजेन्द्र श्रेष्ठलाई मतदान गर्न नेवार समुदायकाे आह्वान
SamacharDesk – बिराज | २०७९ कार्तिक २३, बुधबार

राजेन्द्र प्रसाद श्रेष्ठ सहयोग समितिले आसन्न आम निर्वाचनमा राजेन्द्र प्रसाद श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको छ । सहयोग समितिले एक अपिल जारी गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको हो ।
सहयोग समितिका संयोजक राजेन्द्रमान शाक्यबाट हस्ताक्षरित अपिलमा पृथ्वीनारायण शाहले उपत्यका जितेदेखि नै नेवार समुदायको भाषा, संस्कृतिमाथि संकट आउन थालेको र यो क्रम अहिलेसम्म जारी रहेको भनी लेखिएको छ ।
००७ सालको क्रान्ति पछि केही सकारात्मक वातावरण बनेपनि ०१७ सालपछि नेवाः अस्तित्वमा फेरी कालो बादल मडारिएको समितिको भनाई छ ।
‘तर राज्यसत्ताले नेवाः जातिलाई गरिएको हरेक दमनको प्रतिरोध पनि भएको छ । आफ्नो विवेकले देखेदेखिन त्यस प्रकारका हरेक प्रतिरोधको आन्दोलनमा सहभागी हुँदै आएका सशक्त अगुवा हुन्, राजेन्द्र श्रेष्ठ’ अपीलमा लेखिएको छ ।
२०४६ सालको आन्दोलन, २०६२÷०६३ को आन्दोलनदेखि पहिचानको आन्दोलनमा समेत सक्रिय रहँदै आएका नेताको रुपमा समितिले राजेन्द्र श्रेष्ठलाई प्रस्तुत गरेको छ ।
२०६२/०६३ सालको संविधानलाई आदिवासी जनजाति पक्षधर बनाउनका लागि पनि श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको समितिको दावी छ ।
सरकारबाट प्रस्तुत शिक्षा विधेयकमा उनैको संशोधन प्रस्तावका कारण देशैभरीका स्कुलमा मातृभाषाबाट शिक्षा पाउने वातावरण बनेको पनि समितिले आफ्नो अपीलमा उल्लेख गरेको छ ।
सदनमा स्थानीय जनताको बोली बोल्ने नेता भएकै कारण उनको उम्मेदवारीलाई नेवार समुदायले दलीय आँखाबाट नहेरी साझा उम्मेदवारको रुपमा स्वीकार गरेको समितिको दावी छ ।
‘उनलाई पार्टी हेरेर होइन, उनको योगदान र भविष्यमा संसदमा नेवार साथै आदिवासी जनजातिको हकहितमा खेल्नुपर्ने भूमिकालाई हेरेर अत्यधिक मतले जिताऔं’ विज्ञप्तीमा लेखिएको छ ।
आउँदो मंसीर ४ मा हुन गइरहेको आम निर्वाचनमा श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मदेवारी दिएका छन् ।
Categorized in समाज