आज जनयुद्ध दिवस, सार्वजनिक विदा
SamacharDesk | २०७९ फाल्गुण १, सोमबार

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको अवसरमा आज जनयुद्ध दिवस मनाईंदैछ ।
माओवादीले हिंसात्मक गतिविधि शुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै २८औं वार्षिकोत्सव मनाउन लागिएको हो ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । हिंसात्मक गतिविधिका कमाण्डर समेत रहेका पुष्पकमल दाहालले आफू प्रधानमन्त्री रहेको अवसर पारेर पहिलो पटक जनयुद्ध दिवस भन्दै विदा दिनुभएको हो ।
विगत १५ वर्षमा माओवादी पटक पटक सरकारमा पुगे पनि जनयुद्ध दिवस भनेर फागुन १ मा सार्वजनिक विदा दिने आँट गरेको थिएन ।
हिजो बसेको मन्त्रिपरिषद वैठकमा सत्ता साझेदार दलहरुको विरोध हुँदा हुदै प्रधानमन्त्री दाहालको जोडमा विदा दिइएपछि यसको सर्वत्र आलोचना भएको छ ।
सत्ता घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोधस्वरुप हिजोको मन्त्रिपरिषद् बैठक बहिष्कार गरेको थियो । केही दिन अघिमात्रै प्रधानमन्त्री दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने बताउनु भएको थियो ।
तर, आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी दाहालले अर्को विदाको भार थप्नु भएको छ । नेकपा माओवादी र त्यसका अन्य घटकहरुले भने प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएका छन् ।
Categorized in राष्ट्रिय