arin enterprises

प्रधानमन्त्री दाहालविरुद्ध रिट दायर भएपछि माओवादी घटकहरु एकजुट

SamacharDesk | २०७९ फाल्गुण २६, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने सम्भावना न्युन देखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलाशमा सुनुवाई शुरु भएको हो । हिजो न्यायाधीश श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न नभ्याउने भन्दै स्थगित गरिएको थियो ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा पेशी तोकिए पनि मुद्धा ११औं नम्बरमा रहेकाले आज पनि हेर्न नभ्याइने भन्दै अर्को दिनलाई पेशी सर्न सक्ने सम्भावना छ ।

गत सोमबार प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २९ जनाले द्वन्द्वकालमा भएका व्यक्ति हत्यामा जिम्मेवार रहेको भन्दै सर्वोच्चमा मुद्धा दायर गरेका छन् ।

निवेदकहरुले दाहालले २०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताउनु भएको थियो ।

द्वन्दकालिन मुद्धा भनेर बारम्बार दरपिठ हुदै आएको रीटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएपछि मुद्धा अघि बढेको हो ।

यसैबीच द्वन्द्वकालका मुद्दाहरु फेरि ब्यूँतिन थालेपछि टुक्राटुक्रा भएका माओवादीहरु एकजुट हुन थालेको छ । प्रधानमन्त्री दाहाल लगायत सबै माओवादी घटकहरु दिनहुँजसो प्रधानमन्त्री निवास बालुवाटारमा भेला हुन थालेको छ ।

माओवादी धारका विभिन्न पार्टी र गुटहरुको वैठकले शान्ति प्रक्रिया विरुद्ध षडयन्त्र भइरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवासमा आज बिहान बसेको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा फौजदारी मुद्धा दर्ता गरेर सर्वोच्च अदालतले क्षेत्राधिकार मिचेको ठहर गरेको हो ।

शान्ति प्रक्रिया विरुद्धको प्रयास असफल पार्न दबावमूलक कार्यक्रम गर्ने घोषणा पनि वैठकले गरेको छ । आगामी आइतबार संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले आफ्नो धारणा पनि सार्वजनिक गर्ने भएका छन् ।

शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने तथा नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय पनि वैठकले गरेको छ ।

आवश्यक परे सडक संघर्षमा जानुपर्ने सहमति पनि भएको बैठकमा सहभागी माओवादी नेताहरुले बताएका छन् । वैठकमा तत्कालि माओवादी पार्टीबाट फुटेका विभिन्न आठ वटा घटकका नेताहरु सहभागी थिए ।

Categorized in राष्ट्रिय