उपराष्ट्रपति पदका लागि ४ उम्मेदवार
SamacharDesk | २०७९ फाल्गुण २७, शनिबार

सत्ता गठबन्धनबाट ३ जना र एमालेबाट १ जना गरी नजिकिंदो उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्दै जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो ।
जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् ।
समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् । त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् ।
समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले उपाध्यक्ष शाक्यले आज संसद भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
जनमत पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी ममता झाले संविधानको मर्मलाई कायम राख्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
आज उम्मेदवारी दर्तापछि कुरा गर्दै उहाँले संविधानको मर्मलाई बुझ्दै सशक्त पालना गर्नुपर्छ भनेर आफू कानुनको छात्राको हैसियतले स्पष्ट रहेको बताउनुभयो ।
५२ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत अधिकार दिएको भन्दै त्यो दुःखलाग्दो कुरा भएको उहाँको भनाई छ । झाको उम्मेदवारीको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन् ।
त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन् ।
Categorized in राष्ट्रिय