त्वरं अजिमाको गहना खोज्ने जात्रा सम्पन्न
SamacharDesk – Ram Dangol | २०७९ चैत्र २५, शनिबार

ऐतिहासिक तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) शुक्रबार काठमाडौंको नर:(हाँडीगाउँ)मा सम्पन्न भएको छ।
काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक गहना खोज्ने जात्रा शुक्रबार बिहानदेखि त्वरं अजिमा (वैष्णवीर टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगालस्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीनपटक परिक्रमा गराएर धूमधामसँग मनाइयो ।
किराँत-लिच्छवीकालदेखि सुरु भएको भनिएको यो जात्रालाई हाँडीगाउँ, टुँडालदेवी, गहना खोज्ने जात्रा र भाटभटेनी जात्रा भनेर पनि चिनिन्छ । बैशाख नवमीसम्म मनाइ यो पर्व हरेक वर्ष चैत्र शुक्ल अष्टमीमा औपचारिक यंसी वा लिङ्गो उठाएर सुरुवात हुन्छ ।
गहना खोज्ने जात्रा भनिए पनि पोखरीमा गहना भने हुँदैन । ल्हुती पुन्हीका दिनदेखि टुँडालदेवीको जात्रा सुरु हुन्छ । त्यसदिन मपता अजिमा (भाटभटेनी)को मूर्तिलाई पनि टुँडालदेवी मन्दिरमा ल्याउने गरिन्छ ।
प्रख्यात किम्बदन्ती अनुसार आमा टुँडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा मनाइन्छ।
किम्बदन्ती अनुसार टुँडालदेवी गहना खोज्न पोखरीमा गएकाले उक्त पोखरीको नाम गहनापोखरी रहन गएको हो । त्यसैले टुँडालदेवीको गहना खोज्न रथलाई पोखरीभित्र लैजाने र महालक्ष्मीको रथ पोखरी बाहिर राखेर यो जात्रा मनाउने गरिन्छ ।
पोखरीमा टुँडालदेवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ त्यस क्रममा पोखरीबाहिर टुँडालदेवीकी बहिनी महालक्ष्मी (नक्साल भगवती)को खटलाई पनि परिक्रमा गराइन्छ ।
टुँडालदेवीको खटलाई हडिगाउँको सबैभन्दा पुरानो दबलीमा थप दुई दिन राखेर हराएको गहना फेला परेको जनाउ सहित नुवाकोट र मनमैजुका देवीलाई प्रसाद र फूल पठाइन्छ ।
त्यस्तै अर्काे कथन अनुसार द्वापर युगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैशालकूट भवनमा तोला महारानी भन्ने रानी थिइन् । निकै दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरीभराउ थिए ।
तोला महारानी आफ्नो करुणका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्न सक्षम थिइन् । तर, केही समयपछि उनमा सम्पतिको लोभ जाग्यो । सामान्य मानिसले गहना लगाएर हिँडदा उनको मनमा गहना लगाउने सोच पलायो।
गहना लगाउनका लागि उनले जनतामाथि कर लगाउने निर्णय गरिन्। शालीन तोला महारानीको शान लोभले खुम्चियो। पातमा बसेर स्नान गर्ने उनी पातबाट लड्बडाउँदै खसिन्। त्यसपछि उनमा चेत खुल्यो ।
जनतामाथि आफूले कर लगाएर अन्याय गरिरहेको उनले बुझिन् र पश्चातापस्वरुप दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा सञ्चालन भएको पनि बताइन्छ।
Categorized in संस्कृति