विश्वकप छनोटमा नेपालको पहिलो जित
SamacharDesk | २०८० आषाढ ५, मंगलबार

अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको छ ।
भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको हो । अमेरिकाले दिएको २०८ रनको चुनौतिलाइ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्यो ।
नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले ३९ रनमा आउट हुँदा आसिफ सेख १२ रनमा आउट भए । अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १÷१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि सायन जाँहागिरले अविजित १०० रन बनाए । त्यस्तै सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रनको योगदान गरे ।
नेपालका करण केसीले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ र गुल्शन झाले ३ विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
नेपालले आउँदो बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । यसै वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोट आधार रहेको विश्वकप छनोट प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा टेस्ट राष्ट्रद्वय वेस्ट इन्डिज र जिम्बावेसहित नेदरल्यान्ड्स र अमेरिका छन ।
त्यस्तै श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई समूह ‘बी’ मा छन । समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्नेछन । त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपलाई छानिने छ ।
Categorized in स्पाेर्ट्स