पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान
SamacharDesk | २०८० आषाढ ६, बुधबार

चीनको सहयोगमा बीआरआई परियोजनाअन्तर्गत निर्माण भई गत पुस १७ देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको छ ।
चीनको सिछुवान एयरलाइन्सले आज विहान छ्न्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो । सिछुवान एयरलायन्सको एयरबस ए–३१९ विमान आज बिहान ९ बजेर ५ मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
एक सय ३५ जना यात्रुसहित आएको यो उडान चार्टर्ड उडान हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।
यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र केही सांसदहरु पनि सोही विमानमा पोखरा अवतरण गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले चीनबाट आएको विमानलाई स्वागत गर्नुभएको थियो । सो विमान आजै पोखराबाट काठमाडौं आएर नियमित उडानमार्फत छेन्तु फर्कने छ ।
पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो ।
पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल ९हान० र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) लेसमेत सहयोग गरेका छन् ।
बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ ।
Categorized in राष्ट्रिय