फेसबुक लगाएतका प्लेटफर्महरुमा नेपाली रुपैयाँमै विज्ञापन गर्न सकिने
SamacharDesk | २०८० आषाढ १०, आइतबार

नेपालमा अब मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायतका प्लेटफर्महरुमा नेपाली रुपैयाँमै विज्ञापन गर्न पाइने भएको छ ।
एचटीटीपूल बाई अलेफ नामक मेटाको आधिकारिक बिक्री साझेदारले यस्तो व्यवस्था मिलाएको हो । एचटीटीपूल नेपाल सहित विभिन्न १८ वटा देशमा मेटाको आधिकारिक बिक्री साझेदारको रूपमा रहेको छ ।
केही दिन अघि मात्र कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाली मुद्रामै फेसबुक विज्ञापन गर्न सकिने र सोही आधारमा बिल जारी गर्न सकिने बताएको थियो ।
यसले विज्ञापनदताको वित्तीय कारोबारलाई मूलधारमा ल्याउने विश्वास गरिएको छ । साथै औपचारिक र राष्ट्रिय भाषामा समेत मेटाको विज्ञापन सपोर्ट समेत पाउन सकिने बताइएको छ ।
अलेफले नेपाली डिजिटल भुक्तानीका माध्यम जस्तै वालेट, मोबाइल बैंकिङ आदि मार्फत भुक्तानी लिएर विनिमय दर अनुसार हुन आउने अमेरिकी डलर बराबरको एउटा क्रेडिट अकाउन्ट उपलब्ध गराउनेछ ।
सोही क्रेडिटलाई मेटाका प्लेटफर्ममा विज्ञापनका लागि खर्च गर्न सकिने बताइएको छ । त्यसमा १३ प्रतिशत भ्याट जोडिने अलेफले जनाएको छ ।
यसको अर्थ अब नेपाल सरकारले फेसबुक विज्ञापनमा १३ प्रतिशत भ्याट समेत प्राप्त गर्नेछ ।
Categorized in बिजनेस