arin enterprises

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाईंदै

SamacharDesk | २०८० आषाढ ११, सोमबार

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ । नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयको तथ्याङ्क छ ।

नेपाल प्रहरीका अनुसार विसं २०७९ को चैतसम्म लागुऔषध अपराधमा चार हजार दुई सय २० जना पक्राउ परेको र अपराधमा संलग्नमध्ये लागुऔषधसँग सम्बन्धित अपराधको हिस्सा २० दशमवल ७३ प्रतिशत रहेको छ ।

हाल पाँच हजार नौ सय ११ लागुऔषध मुद्दाका कैदीबन्दी रहनुका साथै करिब पाँच हजार उपचार तथा पुनःस्थापना केन्द्रमा रहेको तथ्याङ्क छ । लागुऔषध कारोबारले अकालमै ज्यान जाने, अपराध र अराजकता बढाउने साथै एचआईभी, हेपाटाइटिस लगायतका रोगहरु पनि सर्ने गर्छ ।

यसै अवसरमा सोमबारगृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय भएकाले सम्बद्ध निकायको समन्वय र सहकार्यबाट यसको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार, उपचार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना, जनचेतनालाई अभियानका रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

दिवसका अवसरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको थियो । भृकुटीमण्डपको खुला मैदानबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

Categorized in राष्ट्रिय