तुलसी रोपी हरिशयनी एकादशी मनाइन्दै,चतुर्मास सुरु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १४, बिहिबार

आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् ।
निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसी घरमा रोप्नाले घरमा नकारात्मक उर्जाहरु नरहने र सकारात्मक उर्जा पैदा हुने विश्वास पनि समाजमा रहेको छ ।
तुलसीको धार्मिकको साथै आयुर्वेदिय महत्व समेत ठुलो छ । रुघाखोकी, ज्वरो जस्ता समस्याले ग्रसित बिरामीहरुको उपचारमा तुलसीलाई घरेलु औषधीको रुपमा समेत प्रयोग गरिन्छ ।
आजको दिनमा तुलसीको साथमा भगवान विष्णुको पूजा गरेर व्रत बस्ने गरिन्छ । आज तुलसी र भगवान विष्णुको पूजा गरी व्रत बस्नाले सम्पूर्ण पापबाट मुक्ति पाइने जनविश्वाश रहेको छ ।
आज चाँगु नारायण, इचंगु नारायण, बुढानीलकण्ठ नारायण मन्दिरमा तथा विभिन्न नारायणस्थानमा भक्तजनहरुको घुइचो लाग्ने गर्छ ।
व्रतालुहरु विहान सबेरै उठेर नुहाई धुवाई गरी घरमा पनि जल छर्केर घरमै नारायणको मूर्ति स्थापना गरी अथवा तीर्थस्थलमा गई षोडशोपचारले नारायणको पूजा गर्ने गर्दछन् ।
चतुर्मास प्रारम्भ
आजकै दिनबाट भगवान विष्णु चार महिनाका लागि क्षीर सागरमा सुत्न जाने विश्वास गरिन्छ । भगवान विष्णु सुत्न जाने एकादशी भएकैले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ ।
आजको दिनमा सुत्ने भगवान विष्णु आजबाट चार महिना पछि कार्तिक शुक्ल एकादशी अर्थात हरिवोधिनी एकादशीमा ब्युँझिने विश्वास गरिन्छ ।
भगवान विष्णु सुत्ने यो चार महिनालाई चतुर्मासको रुपमा लिइन्छ । आफु शयन गर्ने अथवा सुत्ने चार महिनाको अवधिका लागि विष्णुले शिवलाई आफ्नो सम्पूर्ण कार्यभार सुम्पेको धार्मिक कथन रहेको छ ।
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । चर्तुमास अवधिमा विवाह, व्रतवन्ध लगायतका कुनै पनि शुभ कार्यहरु गर्न नहुने मान्यता रहेको छ ।
चतुर्मास अवधिमा माछा मासु खान नहुने धार्मिक मान्यतासमेत रहेको छ ।
Categorized in संस्कृति