नेपालमा विदेशी पर्यटक आवागमनमा वृद्धि
SamacharDesk | २०८० आषाढ १७, आइतबार

नेपालको पर्यटक आवागमन विगतको तुलनामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उसले सन् २०१९ को तुलनामा ८३ प्रतिशतले वृद्धि भएको जनाएको छ । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
विश्व नै अक्रान्त भएको कोरोनाका कारण सन् २०२० देखि नै नेपालको पर्यटन व्यवसाय धरासायी बन्दै गइरहेको थियो । अहिले आएर भने रिकभर हुने अवस्थामा पुगेको देखिन्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सातसय तीन विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।
जुन महिनामा भारतबाट ३८ हजार आठसय ४५, अमेरिकाबाट आठ हजार चारसय ७०, चीनबाट चार हजार तीनसय ४३, बङ्गलादेशबाट दुई हजार चारसय दुई, युनाइटेड किङ्गडमबाट एक हजार नौसय ९२, अष्ट्रेलियाबाट एक हजार छसय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठसय ८८, जापानबाट सातसय ६४ र भुटानबाट सायसय दुई जना पर्यटक नेपाल आएका छन् ।
Categorized in राष्ट्रिय