गुरुको सम्मानमा गुरु पूर्णिमा मनाईंदै
SamacharDesk – Ram Dangol | २०८० आषाढ १८, सोमबार

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस्
अर्थात्
गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।
आज गुरु पुर्णिमा । हरेक वर्षको आषाढ शुल्क पुर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकट गरी मनाउने गरिन्छ ।
सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।
पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।
यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुनेलाई गुरु भनिएको हे । अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ । यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ ।
माथिको श्लोकबाट पनि पुष्टि हुन्छ कि गुरु कति महान हुनुहुन्छ । यस संसारमा जन्म दिने आमाबुबा हुनुहुन्छ भने कर्म दिने गुरु हुनुहुन्छ । आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ ।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।
पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँसबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ ।
व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।
तसर्थ हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी सहि र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौं ।
जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।
Categorized in संस्कृति