मेलम्चीको पानी पठाउन बन्द
SamacharDesk | २०८० आषाढ १९, मंगलबार

वर्षायाममा हुने सम्भावित क्षतिलाई मध्येनजर गर्दै मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी पठाउन बन्द गरेको छ ।
सरकारले एसियाली विकास बैंक (एडीबी) को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी पठाउन बन्द गरेको हो ।
जलवायु परिवर्तन र वर्षा यामका कारण जुनबेला पनि बाढी आउन सक्ने भन्दै एडीबीले वर्षायामभरी मेलम्चीको सुरुङ बन्द गर्न खानेपानी मन्त्री महिन्द्र राय यादवलाई सुझाव दिएको मन्त्रालयले जनाएको छ ।
दुई वर्षअघि मेलम्चीमा आएको बाढीले यसको संरचनामा मात्र झन्डै एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।
पानी पर्दा धमिलो आउन थालेपछि क्षति हुनुभन्दा अघिनै खानेपानी मन्त्रालयले उपत्यकामा मेलम्चीको पानी आपूर्ति गर्न अघिल्लो सातादेखि नै बन्द गराएको हो ।
Categorized in राष्ट्रिय