बाढीपहिरोका कारण राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध
SamacharDesk | २०८० आषाढ २०, बुधबार

बाढी पहिरोका कारण देशका विभिन्न सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने क्रम बढेको छ । सडक विभागले आज बिहानसम्मको सूचना अनुसार विभिन्न राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र १३ वटा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ ।
विभागको पछिल्लो विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग पूर्णारुपमा अवरुछ छन् । मेची राजमार्गको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिमखण्ड तथा गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ ।
यसैगरी तमोर करिडोरको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा गणेशचोक खण्ड पनि अवरुद्ध छ । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले तथा लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तगर्त बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ । यस्तै पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ भने म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ ।
यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुँदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज ९बुधबार० देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जनाएको छ । आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
Categorized in राष्ट्रिय