arin enterprises

प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि बबण्डर

SamacharDesk | २०८० आषाढ २१, बिहिबार

गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि विवादित बनेका छन्।

सोमबार नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि करनदीप सिन्धुले लेखेको ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए्, ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो।

धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाण्डुका पार्टीहरूलाई, नेताहरूलाई पार्टीहरूसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ।

म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तरक्रिया, सहकार्य हुने गर्‍यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्‍यो ।’

यता सो विषयसँग सम्बन्धित सरदार प्रितम सिंहले बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका छन् ।

‘हामीप्रति माया देखाउनलाई त्यसो भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन।’, उनले भने । आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बरु भारतले नेपालमा नाकाबन्दी गरेका बेला दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको उनले बताए ।

उनले आफ्नो सम्बन्ध पारिवारिक मात्र भएको र प्रधानमन्त्री प्रचण्डले बोलेका कुरा राजनीतिक नभएको स्पष्ट पारेका छन्। भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका छन् ।

सोही विषयलाई लिएर बुधबार बसेका संघीय संसद्का दुबै सदन अवरुद्ध भएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र राष्ट्रियसभामा अवरोध गरेको हो ।

दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गर्दै राजीनामा मागेका छन् । सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोएको भन्दै उहाँले देशको गरिमा मेटेको टिप्पणी गर्नुभयो । सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरे।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने आप्mनो उक्त अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ ।

बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएपनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको बताउनुभएको हो ।

उहाँले आफूले पुस्तक विमोचन कार्यक्रममा उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले बेलुनरुपी बबण्डर चाँडै फुट्ने पनि स्पष्ट पार्नुभयो । उहाँले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा प्रमाणित गर्ने बताउनु भयो ।

Categorized in राजनीति