पाँच पूर्वसचिव विरुद्ध पक्राउ पूर्जी
SamacharDesk | २०८० आषाढ २२, शुक्रबार

ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, दिनेश अधिकारी र नारायणगोपाल मलेगो विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ पूर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरु पक्राउ भने परेका छैनन् ।
२०७४ जेठ ८ देखि २०७४ माघ २९ सम्म अख्तियार प्रमुख रहेका दीप बस्न्यात भौतिक योजना तथा निर्माणसहित विभिन्न मन्त्रालयमा सचिव भएका थिए । छविराज पन्त खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री भएका थिए ।
२०६६ असार २८ देखि २०६७ माघ १४ सम्म उनी भूमिसुधार सचिव थिए । त्यहीं रहँदा सरकारी जग्गा व्यक्तिलाई दिलाउने गरी फाइल उठाएर मन्त्रिपरिषद्मा पठाएका थिए । सरकारी जग्गा हिनामिना हुने गरी २०६२र६३ ताका पशुपति टिकिन्छा गुठीका नाममा जग्गा लैजान गरिएका निर्णय तथा टिप्पणी आदेश सदर गरेको कसुरमा युवराज भुसाल तानिएका हुन् ।
सोही कसुरमा अनुसन्धान गर्न उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ । दुवै जना पूर्वभूमिसुधार सचिव हुन् । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवास विस्तार गर्ने नाममा २०६६/६७ ताका भूमाफिया र नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिन खडा गरिएका फाइल सदर गर्नेदेखि टिप्पणी आदेश स्वीकृत अनि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णयमा बस्न्यात र पन्त संलग्न थिए । उनीहरू त्यसबेला क्रमशः भौतिक योजना र भूमिसुधार मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।
पूर्वसचिवद्वय दिनेश अधिकारी र नारायणगोपाल मलेगो सरकारी जग्गा टिकिन्छा गुठीमा लगेर व्यक्तिको बनाउने गरी तयार पारिएका फाइल सदर गर्नेदेखि टिप्पणी उठाउनेसम्मका कसुरमा जोडिएका छन् ।
मलेगो जग्गा हिनामिना प्रकरणको निर्णय हुँदा सहसचिव थिए । पछि सचिवमा बढुवा भएका उनी २०७२ मंसिर ६ देखि २०७३ भदौ १८ सम्म गृह सचिव बनेका थिए । सो प्रकरणमा तत्कालिन १७ जना पूर्वसहसचिव विरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।
पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले थप ब्यक्तिहरु विरुद्ध पक्राउ पूर्जी गराउने तयारी गरेको बुझिएको छ ।
Categorized in राष्ट्रिय