“विद्यालय खाजा कार्यक्रमबाट दैनिक ३३ लाख विद्यार्थी लाभान्वित”
SamacharDesk | २०८० श्रावण ८, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ ।
खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनुभयो ।
प्रधामन्त्री दाहालले विद्यालय खाजा कार्यक्रमले नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको बताउनुभयो परिणामस्वरुप विद्यार्थी भर्नामा वृद्धि नियमित उपस्थिति र शैक्षिकस्तरमा सुधार भइरहेको बताउनुभयो ।
उहाँले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्मको खाद्य प्रणालीका बारेमा छलफल चलाएको र सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको जानकारी गराउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेर्रेससँग शिष्टाचार भेट गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन पश्चात् प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेट गर्नुभएको हो ।
भेटमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र सङ्घबीचको सम्बोधनलाई अझ मजबुत बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
Categorized in राष्ट्रिय