arin enterprises

श्रावण १५, खीर दिवस

SamacharDesk – राम डंगोल | २०८० श्रावण १५, सोमबार

आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् ।

बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर पकाएर खाने गर्दछन् ।

यस वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवकै रूपमा मनाउने निर्णय गरेको छ । खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलेको पाइन्छ ।  जानकारहरुका अनुसार खीर सबैको प्रिय भोजन हो । यसको सांस्कृतिक तथा औषधीय गुणयुक्त छ ।

खीर खाँदा रोगसँग लड्नसक्ने क्षमतामा वृद्धि हुने र शरीरलाई तन्दुरुस्त राख्नले मद्दत राख्ने बताउँछन् । देवता र पितृको काम गर्दा पनि खीर बनाउने भएकोले सांस्कृति रुपमा पनि खीरलाई पवित्र भोजनको रुपमा लिईन्छ ।

वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ । चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।

खीर बनाउँदा राखिने ल्वाङ, घिऊ, काजु, नरिवल, दालचिनी, मरिच, केसर, दाख, पेस्टा आदिमा औषधीय गुण हुने भएकोले यसले शरीरलाई लाभदायक हुने देखिन्छ । खीरमा राख्ने ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वासलाई ठीक पार्दछ ।

दलचिनीले फोक्सोलाई राम्रो गर्दछ भने नरिवलले अम्लपित्तनाशक तथा हृदयघात हुनबाट जोगाउने गर्दछ । यसका साथ खीरले कफ, पित्त, वायु जस्तालाई सन्तुलित राख्ने गर्दछ ।

श्रावण महिनामा खीर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिना भनेको हिन्दू धर्मावलम्बीहरुको शिव पुजनको महिना भएकोले पनि यो महिनाभरि माछा मासु नखाने चलन छ ।

यस्तो अवस्थामा शरीरलाई चुस्त, तन्दुरुस्त र रोगप्रतिरोधात्मक बनाइराख्न पनि खीर खाने चलन रहेको बताइन्छ ।

असार १५ मा दहिचिउरा खाइन्छ भने त्यसको एक महिनापछि खीर खाने विशेष सांस्कृतिक महत्व रहेको छ ।

नेवारमा समाजमा त यस्ता परिकारको चलन अझ बढि छ । सिथिनखःमा मासको वः, हरिशयनी एकादशीमा ग्वार्चा, गुंपुन्हिको दिन क्वाति, मंसिर पुर्णिमामा यःमरि आदि खाने चलन नेवार समुदायमा छ ।

विभिन्न खाद्य पदार्थ वा परिकारहरुसँग जोडिएका यी चलनहरु हेर्दा नेपालीहरु समय अनुसार शरीरलाई आवश्यक खाद्य पदार्थ खान जानेको देखिन्छ ।

Categorized in संस्कृति