अग्निशालामा पुरुषोत्तम महात्म्य वाचन हुँदै
SamacharDesk – बिराज | २०८० श्रावण २१, आइतबार

१२ महिनाको एक वर्ष हुन्छ । र साधारणतयाः वर्षमा ३६५ दिन भन्ने गरिन्छ । ‘यो त सबैलाई थाहा भएकै कुरा हो, किन भनीरहन पर्यो र ?’ शायद तपाईँले यस्तै भन्नेभयो होला । तर धेरैलाई थाहा नहुन सक्छ ३६५ दिनको एक वर्ष मात्र होइन, ३५४ दिनको एक वर्ष पनि हुन्छ ।
सूर्यमासको आधारमा दिन गणना गर्ने हो भने ३६५ दिनको एक वर्ष हुन्छ । तर चन्द्रमासको आधारमा वर्षको ३५४ दिन हुन्छ । यसरी एक वर्षमै ११ दिनको फरक हुन आउँछ । यहि ११ दिन फरकको कारणले ३ वर्षमा एक पटक एक महिना बढि हुन आउँछ र १३ महिनाको एक वर्ष हुने गर्दछ ।
यहि बढि हुन आउने महिनालाई पुरुषोत्तम मास भनिन्छ । अहिले पुरुषोत्तम मास अथवा भनौं अधिक मास चलिरहेको छ । पुरुषोत्तम मासलाई अधिकमास र मलमासको नामले पनि चिनिन्छ ।
‘हरेक महिनाको स्वामी हुन्छ । यो महिनाको कुनै स्वामी नहुँदा नारायणको पुरुषोत्तम स्वरुपले तिम्रो स्वामी म बनिदिन्छु नि भनेर पुरुषोत्तम भगवान स्वामी बनेकोले यस महिनालाई पुरुषोत्तम मास भनिएको हो’ ललितपुरका देव ब्राह्मण प्रमोद शर्माले भने ।
पुरुषोत्तम मासमा कुनै ठुला पूजा, अनुष्ठान आदि गरिन्न । यस बेलामा मत्स्यनारायणमा मेला लाग्ने गर्दछ । साथमा पुरुषोत्तम महात्म्य कथा वाचन र श्रवण पनि गर्ने गरिन्छ ।
यसै क्रममा अहिले विभिन्न स्थानमा पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रम पनि चलिरहेको छ ।
अग्निशाला व्यवस्थापन समितिको आयोजनामा पनि अहिले ललितपुरस्थित अग्निशालामा पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रम चलिरहेको छ ।
हरेक दिन अपरान्ह ४ बजेदेखि साँझको ६ बजेसम्म यहाँ पुरुषोत्तम महात्म्य कथा वाचन गर्ने गरिएको छ । पुरुषोत्तम महात्म्य कथा श्रवण गर्नुको साथै भजनकीर्तन र पूजापाठ गर्न यहाँ विभिन्न स्थानबाट भक्तजनहरु दैनिक भेला हुने गरेका छन् ।
कार्यक्रमको आर्थिक व्यवस्थापन भक्तजनहरुकै दानदक्षिणा र चन्दाबाट भइरहेको कार्यक्रम संयोजक उमेशधर राजोपाध्यायले बताए ।
‘देशकै आर्थिक स्थिती बिग्रिएको अवस्थामा विगतको तुलनामा संख्याको हिसाबले सहयोग कम देखिएको छ तर, धर्म, संस्कृतिको प्रचारको लागि गरिएको कार्यक्रम सफलतापूर्वक चलिरहेको छ । सबैको साथ, सहयोगप्रति हामी कृतज्ञ छौं’ कार्यक्रम संयोजक राजोपाध्यायले भने ।
पुरुषोत्तम महात्म्य कथा श्रवण गर्नाले निकै ठुलो पुण्य पाइने जनविश्वास रहेको छ । पुरुषोत्तम मासमा भगवान पुरुषोत्तम नारायणको व्रत बस्नाले र पुरुषोत्तम महात्म्य कथा श्रवण गर्नाले जन्म मृत्युको चक्रबाट मुक्ति पाइ वैकुण्ठ गोलोक प्राप्त हुने कुरा पुरुषोत्तम महात्म्यमा उल्लेख गरिएको छ ।
‘यो महिनालाई दानपुण्य गर्ने समय मानिन्छ । अरु बेला भन्दा यो समयमा गरिएको दानधर्ममा १६ गुणा बढि फल पाइने भनिएको छ । र पुरुषोत्तम महात्म्य कथा श्रवण गर्नाले गोलोक प्राप्त भई जन्ममृत्युको चक्रबाट मुक्ति पाइने मान्यता छ’ अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले भने ।
अग्निशाला व्यवस्थापन समितिले गत २०६१ सालदेखि हरेक पुरुषोत्तम मासमा पुरुषोत्तम महात्म्य कथा वाचन निरन्तर गर्दै आएको समितिका अध्यक्ष शर्माले जानकारी दिए । पछिल्लो पटक कोभिड १९ संक्रमणको जोखिमका कारण फेसबुक लाइभमार्फत पनि कार्यक्रमलाई निरन्तरता दिएको उनले स्मरण गरे ।
कार्यक्रमको क्रममा हरेक दिन ललितपुरका देव ब्राह्मणहरुबाट पुरुषोत्तम महात्म्य कथा वाचन साथमा भजन कीर्तन समेत भइरहेको छ । गत श्रावण २ गतेबाट शुरु भएको पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रम आउँदो श्रावण ३१ गते बुधबारसम्म जारी रहनेछ ।
कार्यक्रममा सहभागी भई पुरुषोत्तम महात्म्य कथा श्रवण गरी पुण्य लाभ गर्न समितिले सम्पूर्ण भक्तजनमा आह्वान गरेको छ ।
Categorized in संस्कृति