arin enterprises

मस्कले लडाई आलताल गरिरहेको जुकरबर्गको आरोप

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २३, मंगलबार

एलन मस्कले लडाई आलताल गरिरहेको मेटाका संस्थापक मार्क जुकरबर्गले आरोप लगाएका छन् ।

आफ्नो नयाँ एप थ्रेड्स मार्फत जुकरबर्गले यसको जानकारी दिएका हुन् ।

केहि समय अघि देखि सामाजिक संजालका टाइकुनद्वय मस्क र जुकरबर्गबीचको केज फाइटले निकै चर्चा पाइरहेको छ ।

मस्कले आफूहरूबीचको भिडन्त एक्समा प्रत्यक्ष प्रसारण हुने भनेपछि यस विषयले पुनः चर्चा पाइरहेको हो ।

विश्वका धनाद्य तथा एक्सका मालिक मस्कले आइतबार एक्समा पोस्ट गर्दै आफू लडाइँको तयारीका लागि दिनभर वेट लिफ्टिङ गरिरहेको जानकारी दिएका थिए ।

मस्कको त्यही पोस्टको स्क्रिनशटलाई थ्रेड्स् मा शेयर गर्दै जुकरबर्गले आफू पनि तयार भइसकेको बताएका छन् ।

“म त आजै तयार छु । मैले अगस्ट २६ मै भिडौं भनेको थिए जब उनले पहिलो पटक मलाई चुनौती दिएको थियो । तर, उनले अहिलेसम्म पनि स्वीकार गरि सकेका छैनन् ” । जुकरबर्गले थ्रेड्स् लेखेका छन् ।

त्यही पोष्टको अन्तिमा जुकरबर्गले ‘नट होल्डिङ माइ ब्रेथ’ (not holding my breath) भनेका छन् ।

यस्तो लाइन प्रायः कुनै पनि कुरा नहुने अपेक्षा भएको बेला भन्ने गरिन्छ । यसको अर्थ मस्कले आलटाल गरेकै कारण यो लडाइँ नहुने जुकरबर्गको आशय भएको हुनसक्छ ।

उनले सोही थ्रेड्स पोस्टमा रिप्लाई दिँदै लेखेका छन्, “मलाई यो खेल मन पर्छ र यहाँ जे भए पनि तालिम दिने मानिसहरूसँग प्रतिस्पर्धा गरिरहनेछु ।”

मस्कले भने हालसम्म जुकरबर्गको यो पोस्टबारे आफ्नो धारणा दिइसकेका छैनन् ।

Categorized in अन्तर्राष्ट्रिय