नेपालमा अन्तर्राष्ट्रिय विद्युत सम्वन्धि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
SamacharDesk – बिराज | २०८० श्रावण २४, बुधबार

आउँदो भाद्र १५ गतेबाट काठमाडौंमा “नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको हो ।
मिडिया स्पेस सोलुसनले एक प्रेश विज्ञप्ती जारी गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भाद्र १५ देखि १७ गतेसम्म प्रदर्शनी हुने जनाएको छ ।
विद्युतीय, विद्युतीय उपकरण र उर्जासँग सम्बन्धित प्रदर्शनीको यो दोस्रो संस्करण हो । नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको बताएको छ ।
‘प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ’ विज्ञप्तीमा लेखिएको छ ।
विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने आयोजकले जानकारी दिएको छ ।
नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएकाले यो प्रदर्शनीमा भारतीय उपमहाद्वीपका सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकको दाबी छ ।
साथै यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउने पनि आयोजकले दाबी गरेको छ ।
प्रदर्शनीमा आगन्तुकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
आयोजक संस्थाले प्रदर्शनीका लागि दर्ता खुला भइरहेको जानकारी पनि सोही प्रेस विज्ञप्तिमार्फत गराएको छ ।
Categorized in बिजनेस