arin enterprises

नृत्य निर्देशकले गरे रक्तदान

SamacharDesk – बिराज | २०८० श्रावण २९, सोमबार

नृत्य निर्देशकहरुके छाता संगठन नृत्य निर्देशक संघ नेपालले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले गत शनिबार काठमाडौंको भोटाहितिस्थित दरबार हाइ स्कूलको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जम्मा ४० जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको विशेष संयोजनमा संघले कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद एवं नृत्य बिभाग प्रमुख बखत बहादुर हमालले संघको गोकर्णेश्वर नगर कमिटी अध्यक्ष बाबु सेन्चुरीलाई रक्तथैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

हरेक वर्ष नृत्य सम्वन्धि नै विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउँदै आएको संघले यसपालि भने रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

केही दिन अघि मोटरसाइकल दुर्घटनामा परी आफुलाई रगतको आवश्यकता पर्दा सहज रुपमा रगत नपाएपछि रक्तदानको महत्त्वबारे गहिरीएर सोचेको र यो कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष भुवन श्रेष्ठले बताए ।

‘नृत्य निर्देशकहरुले मात्र होइन, हरेक संघसंस्थाले रक्तदान गर्नुपर्छ । कुन बेला कसलाई रगतको आवश्यकता पर्ला, कसलाई थाहा छ र’ अध्यक्ष श्रेष्ठले भने ।

नेपालमै सबैभन्दा बढि पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य, भानु माध्यमिक बिद्यालयकी प्रधानाध्यापिका शारदा कुमारी पौडेल, समाजसेवी कृष्ण महर्जन र कराँते प्रशिक्षक प्रकाश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Categorized in समाज