श्रमिकको ज्याला बढ्यो
SamacharDesk | २०८० भाद्र १, शुक्रबार

सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्यएिको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।
मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ ।
यो पारिश्रमिक दर चिया बगान बाहेकका श्रमिकको हकमा लागू हुने छ । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ ।
यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ ।
यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो । चिया बगानका श्रमिकले भने मासिक न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पाउने छन् ।
यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो ।
यस पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधाहरु, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउने छन् ।
Categorized in राष्ट्रिय