arin enterprises

मलेसियामा उडिरहेको विमान सडकमा खस्दा १० को मृत्यु

SamacharDesk | २०८० भाद्र १, शुक्रबार

मलेसियाको सेलान्गोर राज्यमा उडिरहेको विमान सडकमा खसेर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बिहीबार एक सानो विमान खस्दा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्यसभा सदस्य जोहरी हारुन पनि रहेको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

जसमा ६ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको थियो । हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरु गर्ने महमुदले बताए ।

प्रत्यक्षदर्शीका अनुसार बिचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगरनजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो। विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

ट्वीटरका एक प्रयोगकर्तामार्फत दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ । भिडियोमा भग्नावशेष चारैतिर छरिएको देख्न सकिन्थ्यो ।

Categorized in अन्तर्राष्ट्रिय