महानगरले श्रम बैंकमार्फत रोजगार दिने
SamacharDesk | २०८० भाद्र ४, सोमबार

काठमाडौं महानगरपालिकाले श्रम बैंक खोल्ने भएका छन् ।
महानगरले नगरक्षेत्रभित्रका बेरोजगार नागरिहरुलाई सो बैंक आबद्ध गरी रोजगारसँग जोड्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको थियो, सोही अनुसार महानगरले आवेदन खुलाएको हो ।
महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ ।
यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने महानगरले जनाएको छ ।
महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र लगायत भर्नुपर्ने छ ।
आवेदन फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् । रोजगारीका क्रममा कामपावासीले विशेष प्राथमिकता पाउनेछन् ।
महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने महानगरपालिकाले जनाएको छ ।
Categorized in स्थानीय