एआईले बनाएका आर्टमा कपिराइट नलाग्ने
SamacharDesk | २०८० भाद्र ४, सोमबार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएका आर्टमा कपिराइट नलाग्ने भएको छ ।
संयुक्त राष्ट्र अमेरिका स्थित एक जिल्ला अदालतको न्यायाधीशले हालै मात्र एआईले बनाएका आर्टको कपिराइट (प्रतिलिपि अधिकार) हुन नसक्ने आदेश दिएका हुन् ।
एक अमेरिकी पत्रिका अनुसार गत शुक्रवार अमेरिकी न्यायाधीश बेरिल ए हवेलले एआईले तयार पारेका कलाकृति (आर्टवर्क) को प्रतिलिपि अधिकार हुन नसक्ने बताएकी हुन् ।
अमेरिकामा अदालतले यस्तो निर्णय गरेको पहिलो पटक हो । एआई टुलको प्रयोग विशेषगरी आर्ट बनाउने, टेक्स्ट तयार पार्ने लगायतका थुप्रै कामका लागि भइरहेको छ ।
यससँगै एआईले बनाएका आर्ट, तयार पारेको टेक्स्टको प्रतिलिपि अधिकारको प्रश्न पनि उठेको हो ।
एक व्यक्तिले आफ्नो क्रियटिभिटी मसिन अल्गोरिदम (न्युरल नेटवर्क फर्म इम्याजिनेसन अल्गोरिदम) ले तयार पारेको एआईद्वारा निर्मित तस्वीरको प्रतिलिपि अधिकार पाउनुपर्ने भन्दै अमेरिकी प्रतिलिपि कार्यालयमा उजुरी दिएका थिए । उनले आर्टिफिसियल इन्टेलिजेन्सले तयार पारेका कुनै पनि कुराको प्रतिलिपि अधिकार ऐनले संरक्षण गर्नुपर्ने माग गरेका थिए ।
तर प्रतिलिपि अधिकार ऐनले एआईले सिर्जना गरेका कार्यलाई स्पष्ट रूपमा सम्बोधन नगर्ने र एआईले तयार पारेका कुनै पनि कुराहरू पहिले कसैले गरिसकेको काममा आधारित हुने भन्दै न्यायाधीश हवेलले स्टिफनको विपक्षमा अदालती निर्णय प्रस्तुत गरीन् ।
त्यसैले प्रतिलिपि अधिकार संरक्षणका लागि मौलिकता आवश्यकताको बारेमा प्रश्न उठ्न सक्ने उनको तर्क छ ।
त्यसबाहेक पनि प्रतिलिपि ऐनले मानवद्वारा निर्मित सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित हुने उनले बताउँदै यो निर्णयमाथि पुनरावेदन हुने सम्भावना उच्च भएको द भर्जले नामक अमेरिकी प्रविधि वेबसाइटले उल्लेख गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय