काठमाडौंमा भैंसी आतंक
SamacharDesk | २०८० भाद्र ६, बुधबार

काठमाडौँको बुद्धनगरमा भैँसीले आज आतंक मच्चाएको छ ।
बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए ।
बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरी नियन्त्रणमा लिएको छ। भैंसिको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने बताइएको छ ।
उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो । ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।
डिभिजन वन कार्यालयले डार्टको प्रयोग गरी भैंसीलाई लठ्याएर नियन्त्रमा लिएको छ ।
काठमाडौंमा भैंसी र राँगोको आतंक नयाँ भने होइन । यसअघि एउटा भैंसीले २०७१ साल मंसिरमा बुद्धनगरमा रहेको ह्याम्स अस्पतालभित्र प्रवेश गरेर आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको थियो ।
२०७५ फागुनमा काठमाडौं चन्द्रागिरिको मच्छेगाउँमा एउटा राँगोले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको थियो । उक्त राँगोलाई लखेट्दै दहचोक पुर्याएर प्रहरीले गोली हानेर मारेको थियो ।
यसैगरी २०७६ असोजमा काठमाडौंको न्युरोडमा र २०७९ साउनमा चन्द्रागिरि नगरपालिकाकै गोदामचौरमा आतंक मच्चाएका राँगाहरुलाई प्रहरीले गोली हानेर मारेको थियो ।
Categorized in समाज