पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन शुरु
SamacharDesk | २०८० भाद्र २७, बुधबार

पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ ।
सरकारले आज बुधबार एक कार्यक्रम गरी पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ । मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताउनु भयो ।
उहाँले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताउनु भयो ।
१४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई यो खोप लगाइने छ । त्यसका लागि सरकारले चीनसँग २० हजार भाइल एचपीभीविरुद्धको खोप खरिद गरेको थियो ।
यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ । नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ ।
जस अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।
Categorized in राष्ट्रिय