उदाय गुंला बाजा प्रदर्शनी हुने
SamacharDesk – बिराज | २०८० आश्विन ३, बुधबार

उदाय समाजले गुंला बाजा प्रदर्शनी गर्ने भएको छ । समाजले बुधबार प्रेस सम्मलेनको आयोजना गर्दै आउँदो शनिवार काठमाडौंको वसन्तपुरमा बाजा प्रदर्शनी गर्ने जानकारी दिएको हो ।
प्रेस सम्मेलनमा बोल्दै समाजका अध्यक्ष रुपज्योति कसाःले शनिबार हुने प्रदर्शनीमा समाज भित्रका ६ वटा खलकका २४० जनाले बाजा प्रदर्शनी गर्ने जानकारी दिए ।
कार्यक्रम संयोजक सुमन कमल तुलाधरले विगतमा पुरुषहरुले मात्र गुंला बाजा बजाउँदै आएकोमा पछिल्लो समयमा महिलाको सहभागीता पनि बढ्न थालेको भन्दै शनिबारको कार्यक्रममा हरेक खलकबाट महिलाहरुबाट छुट्टै प्रदर्शनी प्रस्तुत गरिने बताए ।
नेपाल सम्वत अनुसारको दशौं महिना ‘गुंला’ नेवार समाजमा विभिन्न जातीय समुदाय आआफ्नो परम्परा अनुसारको बाजा बजाएर चैत्य सेवामा जाने गर्छन् । यसै क्रममा उदाय समाजबाट धाः, बय् लगायतका बाजा बजाएर जाने गरिन्छ ।
शनिबार समाजको यस्तै बाजाहरुको प्रदर्शनी गर्न लागिएको हो । उदाय समाज भित्रका खलकहरुबाट बाजा प्रदर्शनी हुन लागेको भएपनि अन्य जातीय समुदायका व्यक्तिहरुको पनि सहभागीता रहेको जानकारी पनि तुलाधरले दिइन् ।
‘उदाय समाज भित्रको बाजा प्रदर्शनी हुन लागेको भएपनि अर्को वर्ष अरु जातिय समाजलाई पनि सहभागी गराउन प्रयास गर्नेछौं । यस पटक पनि उदाय खलकहरुको मात्र सहभागीता भएपनि खलक भित्र अन्य जातिय समाजका व्यक्तिहरु पनि रहेका छन्’ तुलाधरले बताइन् ।
समाजकी महासचिव रजनी ताम्राकारले युवा पुस्तामा गुंला बाजाप्रति लगाव र आकर्षण रहेको खुसीको कुरा रहेको भन्दै यसको संरक्षण र प्रवध्र्दनमा समाजमा क्रियाशिल रहेको बताइन् ।
कार्यक्रममा असं बाजं गुथि, जनबहाः गुंला बाजं, कसाः तःधं गुथि, ङत तुलाधर गुलांबाजं खलः, तेबहाः गुंलाबाजं खलः र स्थापित खलःले बाजा प्रस्तुति दिने भएको छ । समाजमा उदाय भित्रका नौ वटा थरको १० वटा समूह रहेको छ ।
Categorized in समाज