देश र नागरिकको सेवामा लाग्न प्रहरी महानिरिक्षक कुवँरको आग्रह
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० आश्विन ५, शुक्रबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार समारोहको आयोजना गरिएको थियो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको समिश्रण रहेको र सशक्त मानसिकताले चुनौतिलाई परास्त गर्नुपर्ने विचार राखे ।
‘राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस् । संगठनप्रति वफादार सिपाहीको ब्रह्मले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिनेछैन भन्ने विश्वास लिएको छु’ कुवँरले भने ।
कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराएका थिए ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले २०७९ भदौ २० गतेदेखि संचालित उक्त तालिममा ५५ जना महिला सहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिए ।
उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपाने, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतको उपस्थिती थियो ।
त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना समेतको उपस्थिति थियो ।
Categorized in समाज