राष्ट्र बैंकबाट दुई प्रकारका चाँदीका सिक्का विक्री सुरु
SamacharDesk | २०८० आश्विन ७, आइतबार

नेपाल राष्ट्र बैंकले चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार मशाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित १० ग्राम र २५ ग्रामका दुई किसिमका मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।
राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै उक्त सिक्का टकमरी गरी बिक्री सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।
आइतबार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।
बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ भने सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने छ । महासाखाका अनुसार दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।
महाशाखाले १० ग्राम सिक्काको मूल्य १ हजार ६०० र २५ ग्राम सिक्काको मूल्य ४ हजार निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Categorized in राष्ट्रिय