arin enterprises

दुई पक्षीय सहमतिको संयुक्त वक्तव्य जारी

SamacharDesk | २०८० आश्विन ९, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै संयुक्त वक्तब्य जारी गरिएको छ ।

सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन गरी सहमतिहरु सार्वजनिक गर्ने चलन भए पछि दुई देशबीच केही बूँदाहरुमा सहमति हुन नसक्दा आज मात्रै संयुक्त वक्तब्य जारी गरिएको हो ।

चीनले बीआरआइ, जीएसआइ र जीडीआइ जस्ता अभियानमा नेपालको समर्थन खोज्दा वक्तब्य जारी हुन नसकेकोमा नेपाल ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्स (जीडीआइ) लाई समर्थन गर्न तयार भएपछि संयुक्त वक्तब्य जारी गरिएको हो ।

आज विहान जारी गरिएको वक्तब्यमा नेपालले चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्सलाई समर्थन गरेको उल्लेख छ । यस्तै दुई देशबीचका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पुनः सुचारु गर्ने समझदारी पनि भएको छ ।

यस्तै लिजी–नेचुङ बन्दरगाह र चाङ्मु–खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेका छन् । यस्तै छेन्ताङ–किमाथांका र रिवु–ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने वक्तव्यमा उल्लेख छ ।

नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भूजडित देश बनाउन यातायात र राजमार्ग सम्बन्धि सम्झौताहरु कार्यान्वयन गर्ने सहमति पनि भएको वक्तब्यमा उल्लेख छ ।

काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म बन्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन अघि बढाउन पनि दुई देश सहमत भएका छन् ।

काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणको कामलाई छिट्टै कार्यान्वयनमा लैजाने विषय पनि वक्तव्यमा समावेश छ । रसुवास्थित चिलिमे जलविद्युत आयोजनादेखि केरुङसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्ने सहमति भएको तथा केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा दुवै मुलुकले सन्तुष्टि जनाएको पनि वक्तब्यमा उल्लेख छ ।

यस्तै चीनको सहयोगमा पोखरामा निर्मित पोखरा विमानस्थलमा चीनबाट नियमित उडानको पहल गर्ने विषय पनि संयुक्त वक्तब्यमा परेको छ भने नेपालमा रेल सञ्चालनका लागि आवश्यक जनशक्तिलाई चीनले तालिम दिने छ ।

नेपालले चीनलाई एक जोडी गैंडा दिने र नेपालबाट राँगाको मासु चीन निर्यातका लागि प्रक्रिया शुरु गर्ने सहमति पनि भएको छ ।

यसैबीच, प्रधानमन्त्री दाहाल आज बेइजिङबाट सिछुवान प्रान्तको छोङछिङ पुग्नुभएको छ । छोङछिङमा आज कृषि विज्ञान प्रतिष्ठानको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Categorized in राष्ट्रिय