arin enterprises

नेपालद्वारा क्रिकेटमा चार दुर्लभ कीर्तिमान

SamacharDesk | २०८० आश्विन १०, बुधबार

नेपालले सियन गेम्सको क्रिकेटमा चार दुर्लभ कीर्तिमान कायम गरेको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कीर्तिमान कायम गरेको हो ।

मंगोलियाविरूद्ध नेपाल ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाउँदै टी ट्वान्टी क्रिकेटमा सबैभन्दा धेरै रनको कीर्तिमान बनाएको छ । योनै टी ट्वान्टी क्रिकेटमा बनेको सर्वाधिक धेरै रन हो ।

यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २ सय ७८ रनको सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको थियो ।

यस्तै, नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान समेत बनाएको छ । ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमै अलआउट गरि नेपालले खेल २ सय ७३ रनले जितेको थियो । यो नै टी ट्वान्टी क्रिकेटमा सर्वाधिक ठुलो अन्तरको जित हो ।

खेलाडीहरुले समेत मंगोलियाविरुद्ध केही नमेटिने कीर्तिमान कायम गरे ।

विशेष गरि दिपेन्द्र सिंह ऐरीले ९ बलमा ५० रन पुरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाए । दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा यो कीर्तिमान कायम गरेका थिए ।

यस्तै कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे । कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए । कुशल मल्लले भने टी ट्वान्टी क्रिकेटमा सबैभन्दा चाँडो सतक प्रहार गर्ने विश्व कीर्तिमान कायम गरे । उनले ३४ बलमा यो कीर्तिमान कायम गरेका हुन् । यसअघि साउथ अफ्रिकाका डेभिड मिल्नरले बंगलादेशविरुद्ध ३५ बलमा यो कीर्तिमान आफुसँग राखेका थिए ।

त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र  आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए । खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको थियो ।

त्यस्तै मंगोलिया त्यो टिम हो, जसले नेपालसँग खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको छ । मंगोलिया नेपालका लागि त्यस्तो प्रतिद्धन्दी बनेर चिनिनेछ, जसविरुद्ध नेपालले केही उद्भुत कीर्तिमान कायम राखेको छ । 

Categorized in स्पाेर्ट्स