arin enterprises

ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० आश्विन १३, शनिबार

ललितपुरको पूर्णचण्डीमा ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न भएको छ । शनिबार पूर्णचण्डी (सिद्धिलक्ष्मी) देवीको मन्दिर परिसरमा ग्वंगमलः जात्रा सम्पन्न भएको हो ।

पाटनको इन्द्रजात्रा अन्तर्गत पूर्णचण्डीमा आज शनिबार पूर्णचण्डी भूजा जात्रा तथा प्रदर्शनीका साथसाथै पूर्णचण्डी देवीको खट यात्रा पनि हुने गर्छ ।

हरेक बर्ष असोज कृष्ण प्रतिप्रदा दिन गरिने यस जात्रालाई धुमधामका साथ सम्पन्न गरिन्छ । पुन्चली भुजा नामले परिचित यस जात्रालाई ग्वंगमलः जात्रा पनि भनिन्छ भनी धेरैलाई थाहा नहुन सक्छ ।

आज पूणचण्डी मन्दिर परिसरमा शिखर आकारमा १२ वटा भातको ठूलो ठूलोे ग्वःजाः बनाइ प्रदर्शन गरिन्छ ।

यसैलाई कसैले पुन्चली भुजा भन्ने गर्छन् त भात देवताको साथमा विभिन्न नामले समेत चिन्ने गरिन्छ । यही पुन्चली भुजा हेर्न हरेक वर्ष आजको दिनमा पूणचण्डी मन्दिर परिसरमा मानिसहरको भीड नै लाग्ने गर्दछ ।

ग्वंगः अर्थात कुखुराको भाले र मलः अर्थात चट्याङ वा ड्राएगन हो । ग्वंगमलःलाई समग्रमा बुझ्नु पर्दा टाउको कुखुराको जस्तो, जिउ हेर्दा ड्राएगनको जस्तो हो । यसलाई चट्यांगको रुपमा पनि लिइन्छ ।

मन्दिर परिसरमा राखिने १२ वटा भुजामा एउटा भुजाको लागि नै ६ पाथी चामल आवश्यक पर्छ ।

सोही ६ पाथी चामलबाट पकाइएको भातबाट शिखर वा गजुर आकारमा ग्वःजाः बनाई त्यसको माथि माछा, मासु, तथा बिभिन्न तरकारीहरु उसिनेर नुन, बेसार र जीरामा मात्र मोलेर सजाउने गरिन्छ ।

भुजा बनाउनेहरुले बिहानै स्नान तथा नित्यकर्म गरी, निराहार रही, चोखो भई भुजा बनाउने गर्दछन् ।

ती भुजाहरु ललितुपरका राजोपाध्याय देव ब्राह्मणहरुकोबाट साथै गाबहा छेँका अमात्यहरुबाट पनि राख्ने गरिन्छ ।

कुम्भेश्वर पूजारी, पूर्णचण्डी पूजारी, कृष्ण मन्दिर पूजारी राजोपाध्यायहरु र गाबहा छेँका अमात्यहरुको बाट २÷२ वटा र तलेजु पूजारी खलकबाट ४ वटा भुजा राख्ने चलन छ ।

यस १२ वटा भुजालाई १२ महिनाको प्रतिकको रुपमा लिइन्छ ।

 

 

त्यही १२ वटा भुजाको अगाडि ग्वंगमलः लेखी त्यसमाथि मलः मरि (बिशेष किसिमको रोटी), कल्यामरी, पुरी, केरा, दहि आदि राखी पूजा गर्ने गरिन्छ ।

पूर्णचण्डी मन्दिरमा ग्वंगमलको पूजा गर्नाले पूर्णचण्डीमा चट्यांग नपर्ने जनविश्वास रही आएको छ ।

यस्तै आजकै दिन बेलुका सिद्धिलक्ष्मी देवीको प्रतिमालाई मण्डिछेँ, बकनिम्ह र वलानिम्ह कवलमध्ये पालोवालाको घरवाट ल्याई मन्दिरको गर्भगृहमा राखिन्छ ।

यसपटक वलानिम्ह कवल अन्तर्गत महाद्यःननिबाट देवीको प्रतिमालाई ल्याइएको थियो ।

त्यसपछि वलानिम्ह कवलको प्रतिनिधिबाटै राती अहोरात्र यज्ञ गरी तान्त्रिक विधिवाट छाग (बोका) बलिसहित सिद्धिलक्ष्मी देवीको पूजा पनि गर्ने गरिन्छ ।

भोलि अर्थात असोज कृष्ण द्वितियाको दिन भुजालाई विधिवत रुपमा विर्सजन गरि भोलि नै बेलुका देवीको प्रतिमालाई फर्काई यो जात्रा सम्पन्न हुने गर्छ ।

नोट : केहि सच्याएको

Categorized in संस्कृति