‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह' सुरु
SamacharDesk | २०८० आश्विन १४, आइतबार

काठमाण्डौ उपत्यकामा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउन लागेको हो ।
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह आजबाट सुरु भएको छ ।
कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने छ ।
कार्यक्रमको आज शुभारम्भ गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुर्घटना न्यूनीकरकरणका लागि चालक, सडकको स्तरोन्नति, सवारी साधनहरुको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउनु भयो ।
गृहमन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणसंगै सडकमा सहज ढंगले सवारी चलाउने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
उहाँले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको बिरोध गर्नुभयो । उहाँले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिनुभयो ।
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आजबाट शुरु भएको सप्ताहकै क्रममा आज बिहान नारायणहिटी संग्रहालयबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरि पनि निकालिएको थियो ।
र्यालीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, महानगर प्रहरी, यातायात व्यवसायी लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।
Categorized in राष्ट्रिय