arin enterprises

आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

SamacharDesk – बि.के. करुण | २०८० पौष १६, सोमबार

पौष १४ गते, शनिबारको दिन, साँझको करीब ६ः३० बजेको समय । खुसिबुँस्थित एक पार्टी प्यालेसको हलमा पार्टी चलिरहेको थियो, साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) र बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को ।

हलमा उपस्थित प्राय सबैजना स्न्याक्स र ड्रिंक्समा व्यस्त थिए । केही भने डिनरतिर पनि पुगिसकेका थिए ।

सोही पार्टी बीच औपचारिक कार्यक्रम जस्तै राजोपाध्यायका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्याय मंचमा पुगी माइकबाट बोल्न थाले । ‘यो विशेष क्षणलाई अझ केही विशेष बनाउने जमर्को थाल्दैछौं, सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

जंक्व गरिएका आर. के. निर्मल र उनकी धर्मपत्नी विन्दीरा राजोपाध्यायलाई पनि मंचमा बसाउन ल्याइयो । जंक्वको पार्टी कुनै औपचारिक कार्यक्रमको रुपमा बदलियो ।

कार्यक्रमको उद्घोषण थालेका बिराजकाजीले भने, ‘मेरा पिता हरिओम पति राज राजोपाध्याय अथवा आर. के. निर्मल एक लेखक पनि हुनुहुन्छ, सबैलाई थाहा नै होला । आज यो विशेष अवसरमा हामी उनलाई एउटा सरप्राइज गिफ्ट दिन चाहन्छौं ।’

बिराजले लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, अधिकारकर्मी नेता मल्ल के. सुन्दरको साथमा आफ्ना परिवारलाई मंचमा बोलाए र सबैको हातमा प्याक गरिएको सामग्री हातमा राखियो ।

सबैले उक्त प्याकेट खोल्दाखेरी सार्वजनिक भयो, साहित्यकार आर.के. निर्मलबाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा ।’

उपन्यास विमोचन भएसँगै उद्घोषण गरिरहेका आर.के. निर्मलका पुत्र बिराजले यो पुस्तक अनुवादकलाई नै थाहा नदिइ सरप्राइज गिफ्टको रुपमा प्रकाशन गरिएको जानकारी दिए ।

‘प्रकाशन संस्था लहना मिडियाका व्यवस्थापक, ले आउट डिजाइनर रोशन राजोपाध्याय, कभर डिजाइनर र स्केच आर्टिस्ट सचिना राजोपाध्याय र म गरी चार जनालाई मात्र यो पुस्तकको जानकारी थियो । आफ्नो बुबालाई सरप्राइज गिफ्ट दिनको लागि सुरेन्द्र भक्त र म मिलेर यो काम गरेका थियौं’ बिराजले भने ।

पुस्तक विमोचन पछि बोल्दै अधिकारकर्मी नेता मल्ल के. सुन्दरले आफ्नो जंक्वको अवसरमा एक लेखकलाई आफ्नै कृति प्रकाशन भन्दा ठुलो उपहार अरु हुन नसक्ने बताए ।

सो अवसरमा मल्लले विगतमा पुस्तकका अनुवादक आर. के. निर्मलसँगको सहकार्यलाई पनि सम्झे ।

‘मैले इनाप साप्ताहिक प्रकाशन गर्दाको समय होस् वा विगतको भाषा आन्दोलन । मलाई निर्मलको साथ, सहयोग निरन्तर सक्रिय रुपमा भइरह्यो । अब निर्मलले आफ्नो कलम रोक्न पाउँदैन । लैख्दै जानु, मेरो शुभकामना छ’ मल्लले भने ।

लहना मिडियाका व्यवस्थापक सुरेन्द्र भक्तले करीब पाँच वर्ष अघि नै यो पुस्तक प्रकाशनको तयारी गरेको भएपनि लकडाउन लगायत विविध कारणले प्रकाशन गर्न नपाएको तर, लेखककै जंक्वको अवसरमा प्रकाशन गर्न पाउँदा निकै हर्षित भएको बताए ।

लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल लेखक आर.के. निर्मलकै जंक्वको अवसरमा उनकै कृति उनैलाई अर्पण गराउन पाउँदा गौरवको अनुभव भएको बताए ।

चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यास श्यामा बल्लभले अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट हिन्दी भाषामा प्रकाशन गरेक थिए भने सोही हिन्दीबाट साहित्यकार आर.के निर्मलले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक विश्वभुमिको ‘शुक्रबाःया तँसापौ’ मा धारावाहिक रुपमा प्रकाशन गरेका थिए ।

विगतको समयलाई सम्झिँदै अनुवादक निर्मलले भने, ‘त्यो बेला कथा पुरा हुन नपाउँदै पत्रिकाको प्रकाशनै बन्द भयो र कथा अधुरो नै रहन गयो । तर अब पुस्तकको रुपमा कथाले पूर्णता पाएको छ । यो सरप्राइज गिफ्ट देखेर म निकै नै खुसी छु ।’

लहना मिडियाको प्रकाशन लहना मिडियाले गरेको हो । पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।

Categorized in पेजथ्री