लघुवित्तपीडित र प्रहरीबीच झडप
SamacharDesk | २०८० फाल्गुण ११, शुक्रबार

न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच आज झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरुलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।
शुक्रवार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । यता सिफल चौरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।
भडपबाट दर्जनांै प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरुले निषेधका लागि राखिएको बार फालिदिएका थिए ।
प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर्, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर बिरोध जनाएका छन् ।
बिभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरु मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका थिए ।
सिफलचौरलाई मुकाम बनाएर बसेका उनीहरुले दैनिक प्रदर्शन र धर्ना दिंदै आएका छन् । भोलीदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।
Categorized in राष्ट्रिय