arin enterprises

काठमाडौं महानगरका टोल, ठाउँको प्राचीन नाम ब्युँताइने

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० चैत्र २, शुक्रबार

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ ।

प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बहि, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ ।

यो कामको प्रारम्भ ५ वटा वडाबाट भएको छ । वडा नं. ५ हाँडीगाउँ (प्राचीन नाम नरः) भित्रका विभिन्न ठाउँको प्राचीन नाम खोजी भइसकेको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योर/खास्ती), वडा नं. ७ चाबहिल (प्राचीन नाम चाबही), वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेत) वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका पनि विभिन्न ठाउँको नाम खोजी भइसकेको छ ।

खोज कार्यबाट नरः (हाँडीगाउँ) मा ५२ वटा, खस्योर/खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चाबहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरु अब प्रचलनमा ल्याइने कामपाको भनाई छ ।

‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन्, पहिचान संरक्षण हुन्छ’

सांस्कृतिक सहरको नाम मेटिने गरी नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गएकोले प्राचीन नाम खोज्नुपरेको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत बताउँछन् ।

‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन्, पहिचान संरक्षण हुन्छ’ संयोजक संगतले भने ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो ।

अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात, संस्कृतिविद, इतिहासविद, पुरातत्वविद, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरुसँग सोधेर प्रशोधन गरेको छ ।

ठाउँहरुको मौलिक नाम ७० बर्ष उमेर माथिका व्यक्तिहरुले मात्र उच्चारण गर्ने गरेको पाइएको सीआइयुडीका कार्यक्रम प्रबन्धक यशमान कर्माचार्यले बताए ।

नाम अपभ्रंश हुने क्रमले मौलिक नामको स्वरुप परिवर्तन भएको भाषाविद शरदवीर कसाः बताउँछन् ।

‘वडा नं. ५ अहिले कोटाल भनिने टोलको नाम क्वेत्वाल हो । यसबाट क्वेतोल भयो, त्यसपछि कोटोल, कोटाल हुँदै अहिले कोटाल टोल भयो' कसाः सुनाउँछन् ।

टोल, ठाउँका प्राचीन नाम भाषिक कारणले पनि परिवर्तन भएको कसाःको भनाई छ ।

‘केही नामहरु नेपालीकरण र अंग्रेजीकरण पनि भएका छन् । जस्तै, छुमा गणेद्यःबाट मुसे गणेश, तिसापुखूबाट गहना पोखरी, न्हू सतकलाई न्यु रोड भनियो’ कसाःको भनाई हो ।

यस्ता विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी र अंग्रेजी रोमन लिपिमा नाम पाटी राख्ने कामपाले जानकारी दिएको छ ।

नाम अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठका अनुसार नेवार महिलाले प्रयोग गर्ने परम्परागत पोशाक हाकुपतासिको रातो र कालो रङ्गको पृष्ठभूमिमा ‘नाम पाटी’ (नेम प्लेट) राखिने बताइन् ।

‘ढुङ्गेधारा, सत्तलको नाममा यही रङ्ग संकेतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ । बोर्डमा क्युआर कोर्ड हुनेछ । कोड स्क्यान गरेपछि प्राचीन नाम र अर्थ, धार्मिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक पक्ष लगायतका जानकारी प्राप्त हुनेछ’ श्रेष्ठले भनिन् ।

अध्ययनबाट विस्तृत र परिवर्तित स्वरुपका सबै नाम हेर्न र पढ्न सकिने भएकोले यसलाई ग्रहण गर्न सजिलो हुने कामपाको दाबी छ ।

Categorized in स्थानीय