arin enterprises

मलेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

SamacharDesk | २०८१ बैशाख ३, सोमबार

नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको सुरुवाती खेलमै नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने शनिबार भएको नेपालको दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

समूह ए अन्तर्गत ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सोमबार भएको तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटले हराएको हो । लगातार तेस्रो जितपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।

तेस्रो जितसँगै ६ अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा छ । सोमबारको खेलमा जितका लागि एक सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय १७ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि आशिफ शेखले ४० रन बनाए। उनले १८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएको हो ।

यस्तै ओपनर कुशल भुर्तेलले ३२ रन, कप्तान रोहितकुमार पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाए । बलिङमा हङकङका इशान खान र यासिम मुर्ताजाले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो ।

बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिए । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिए । वर्षाले केही समय ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो।

नेपालले अन्तिम खेल ५ गते साउदी अरेबियासँग खेल्नेछ । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

नेपाल प्रिमियर कपको साविक विजेता हो ।

Categorized in स्पाेर्ट्स