arin enterprises

थप ९० जना कोरोनालाई जित्दै घर फर्के

SamacharDesk – विकाश | २०७७ जेठ २८, बुधबार

नेपालमा थप ९० जना कोरोना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै घर फर्केका छन् ।

देशका विभिन्न अस्पतालमा उपचाररत २ जना महिला र ८८ जना पुरुष संक्रमण मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक अस्पतालबाट डिस्चार्ज हुनेमा कोशी अस्पतालमा एक महिला र पाँच जना पुरुष छन् भने कोभिड १९ युनिफाइड कमान्ड अस्पताल बलम्बुबाट पनि एक जना महिला घर फर्केकी छन् ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत १८ जना पुरुष पनि निको भएर डिस्चार्ज भए ।

साथै विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना पुरुष र महेन्द्र गेनाई आइसोलेसन सेन्टर सिराहाबाट २० जना पुरुषको साथै कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना पुरुष पनि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो दुई वटा पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । जसमध्ये महिला ७९ जना छन् भने ५ सय ९५ जना पुरुष रहेका छन् ।

पछिल्लो समय संक्रमण निको हुनेको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ ।

Categorized in समाज